धनगढीका दुई मेडिकल सिल

औषधि व्यवस्था विभाग नेपालगञ्जको नेतृत्वमा गरिएको औषधि पसलको अनुगमनका क्रममा धनगढीका दुई वटा मेडिकलमा सिल गरिएको छ । बुधबार धनगढी बजारका दुई वटा मेडिकल दर्ता नभएका, सिफारिसमा नपरेका औषधि वेच्ने गरेको लगायतका कैफियत भेटिएपछि अनुगमन टोलीले ती मेडिकल शिल गरेको हो ।

ओषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार शाहका अनुसार धनगढी उप महानगरपालिका–७ स्थित जेपि क्लिनिक र सो वडाको एस.आर पाराक्लिनिकलाई सिल गरिएको हो । शाहका अनुसार जेपि क्लिनिक दर्ता नै नगरेको पाइएको र एस.आर पाराक्लिनिले दर्ता नगरिएको र रिफारिस नगरिएका औषधि वेच्ने गरेको भेटिएकाले शिल गरिएको हो ।

औषधि व्यवस्था विभागका प्रतिनिधि शाह सहित जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत रविन्द्र ओखेडा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीयको रोहबरमा क्लिनिकहरु शिल गरिएका हुन् ।

यसैगरी अनुगमन समितिले धनगढीका अन्य दुई वटा मेसिडकलमा म्याद नाघेका औषधि र वेच्न सिफारिस नभएका औषधिको विक्रि वितरण गर्ने गरेको भेटिएकाले ती मेडिकलमाथि पनि कारवाहीको प्रक्रिया अधि बढाएको छ ।

फार्मेसी अधिकृत निरीक्षक शाहले अनुगमन गर्दा कम्जोरी भेटिएका दुई वटा मेडिकल सञ्चालकलाई बयान दिनका लागि नेपालगञ्ज कार्यालय बोलाइएको बताए । उनका अनुसार बयानका लागि बोलाइएका मेडिकल सञ्चालकले दिएको बयानका आधारमा बाँकी प्रक्रिया अघि बढाइने छ ।

शिल गरिएका क्लिनिकका हकमा भने आवश्यक जरिवाना तिरेर कानूनी प्रक्रिया पुरा गरेपछि मात्रै सञ्चालनको अनुमति दिइने निरीक्षक शाहले बताए । ‘दुई वटा मेडिकललाई वयान दिएर आफ्नो मेडिकलको बारेमा जानकारी दिने मौका दिएका छौं,’ शाहले भने, ‘उनिहरुको बयानका आधारमा के गर्ने भन्ने निर्णय होला तर सिल गरिएका मेडिकलको हकमा भने कानून अनुसार कारवाही अघि बढ्ने छ ।’