सन्धिखर्क महोत्सव : पाँच करोडको कारोबार हुने अपेक्षा

गणतन्त्र ल्याइम भन्छन् फालिम भन्छन् राजा ।
त्यही फालेका राजा जस्ता कैयु निस्के आज ।।

लोकगायक पशुपति शर्माले ‘लुटन सके लुट कान्छा लुटन सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीत गाएपछि सबै दर्शकले हात उठाए । सबैले वर्तमान समयको यथार्थतासम्बन्धी गीत गाएको भन्दै पशुपतिलाई वाह वाह पनि गरे ।

अर्घाखाँचीको सन्धिखर्कमा जारी पाँचाैँ महोत्सवमा उपस्थित दर्शक सामु उहाँले यो गीत गाउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपाल आमा की”, उपस्थित दर्शकले भने, ‘जय’ । पशुपतिले भन्नुभयो, ‘देश लुट्न दर्शकले भने पाइँदैन, पाइँदैन ।’

नेपालमा हजाराैँ जनाको बलिदानीपछि लोकतन्त्र आए पनि जनताको पक्षमा केही काम हुन नसकेको गायक शर्माले बताउनुभयो । भ्रष्टाचार, अनियमितता बढेको देशमा देखिने र जनताले महसुस गर्ने गरी विकासका योजना अगाडि बढ्न नसकेको गायक शर्माको भनाइ छ । विदेशबाट फर्किएर नेपालमा केही गराैँ भनेर योजना थालेका दाजुभाइको पक्षमा ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ, मलाई अष्ट्रेलिया यहीँ’ गीत गाउनुभएको थियो ।

उहाँले भन्नुभयो, “तर यो गीतमा मात्र सीमित भयो । सरकारले उचित, दीर्घकालीन विकास र आर्थिक समृद्धिका कार्यक्रम नल्याउँदा युवाको विदेश पलायन रोकिएन ।” महोत्सवको अवलोकन गर्न मञ्चमा बस्नुभएका नेकपा (एमाले)का केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई लोकगायक पशुपतिले ‘नेताज्यू गोरुसिङ्गे–सन्धिखर्क सडक कहिले मर्मत हुन्छ ? अहिलेसम्म बाटो किन बनाउनुभएन ?’ भनेर पनि प्रश्न गर्नुभयो ।

महोत्सव अवलोकन गर्न र मनोरञ्जनका लागि आएका दर्शकलाई ‘भयो जीवन तिरिमिरि झ्याईं, स्याङ्जा जाने बाटोमा तनहुँ, डालीमा चील बस्यो’लगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको थियो । कलाकारहरू अभिनव चौहान, शोभा त्रिपाठी, दिपु मगरलगायतका कलाकारले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही माघ ११ गतेदेखि २४ सम्म अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीलाई पर्यटकीय हिसाबले देशविदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप मिश्रले बताउनुभयो ।

चौध दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु पाँच करोडको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रले बताउनुभयो ।