नेपाली सेयर बजारका केही विशेषताहरु 

संसारमा सेयर बजारको प्रादुर्भाव सदियौ पहिले देखि नै भएको हो । अहिले र उहिलेको प्रारूप फरक तर कुरा उहि ।  पुँजीको किनबेच । कुनै पनि नाफामुखी संस्था वा कम्पनी स्थापना र संचालन गर्न पैसा चाहिन्छ । कसैले त्यस संस्थामा पैसा लगाउँछ भने त्यो उसको लागी लगानी भयो भने कम्पनीको लागी पुँजी भयो । कम्पनीले यसै पुँजीको परिचालन गरेर बस्तु वा सेवा उत्पादन गर्छ अनि बजारमा बेचेर पैसा आम्दानी गर्छ । खर्च कटाएर बाँकी रहेको पैसा नाफा हुन्छ । नाफालाई कम्पनीमै पुन लगानी गर्न सकिन्छ वा लगानीकर्तालाई वितरण पनि गर्न सकिन्छ । लगानीकर्तालाई नाफा वितरण गरिन्छ भने लगानीकर्ताले लाभांश पाएको हुन्छ । लगानीकर्ताले कम्पनीमा पैसा हाल्ने भनेकै उचित लाभांश हासिल हुने आशाले नै हो ।

कम्पनीको पुँजीलाई ससानो ईकाईमा टुक्रयाउन थाले पछि सेयर बजारको बिकास भएको हो । जसले गर्दा बिभाजित सानो ईकाइको मात्रालाई,जसलाइ सेयर भनियो, लगानीकर्ताले बिक्री गर्न सक्ने भए र खरिद गर्न सकिने पनि भयो । स्वभाविकरुपमा खरिद र बिक्री गर्न सकिने भए पछि मूल्य निर्धारण हुने नै भयो र मूल्यको तय बजारमा हुने भयो । सामान्य सिद्दान्त अनुरुप बजारमा राम्रो, धेरै माग भएको र दुर्लभ बस्तुको मूल्य धेरै हुन्छ भने कमसल, सर्व-ब्यापी र सुलभरुपमा पाईने बस्तुको मूल्य कम हुन्छ । सामान्यत यहि सिद्धान्त सेयर बजारमा सेयरको मूल्य तय हुँदा लागू हुन्छ । यो सामान्य सिद्दान्त बाहेक अन्य विशिष्ट तथा विभिन्न अबधारणाहरु रहेका छन् । जुन यहाँ चर्चा गरिरहनु सान्दर्भिक छैन्।

सेयर बजारलाई विभिन्न विद्वानहरुले आ-आफ्नो तवर र नजरले ब्याख्या गरेका छन् । कार्ल मार्क्स अर्थ शास्त्र र राजनीतिशास्त्रका एक प्रमुख परिचित विद्वान हुन । कार्ल मार्क्सले सेयर बजारले बजारले अर्थतन्त्रको उत्पादकत्व र उत्पादन बृद्दिमा केहि पनि योगदान नदिने विचार ब्यक्त गरेका छन् । उनका आलोचक र तथ्यले यो विचारलाई पूर्णरुपमा सही हो मानेको छैन । सेयर बजार बजार आफैमा पुँजीको ब्यापार गर्ने बजार भएको हुँदा बृद्दी भएको पुंजी उत्पादनमा परिचालन हुदैन भन्न सकिने अबस्था विभिन्न तथ्यले देखाउँदैन । बृद्दि भएको पुँजीको मूल्यलाई उपयोग गरेर पुन उत्पादन क्षेत्रमा परिचालन भएको प्रशस्त उदाहरणहरु पाउछौ । हामी नेपालमै यसको धेरै उदाहरणहरु पाउँछौँ ।

सेयर बजारको सम्बन्धमा अर्को ब्यापक मात्रा रहेको अवधारणा भनेको यसलाई जुवा घरको रुपमा लिने गरेको अवधारणा रहेको छ । यस्तो अवधारणा सर्वसाधारण नेपालीहरुकोमा मात्र नरहेर विकसित मूलुक अमेरिकामा पनि रहेको छ । त्यहांको वाल स्ट्रिटलाई धेरै अमेरिकनले जुवाघर कै रुपमा मान्ने गरेका छन । यसमा हामी नेपालका भू पु प्रधानमन्त्री बावुराम भट्टराईलाई सम्झन सक्छौ । उनी अर्थ मन्त्री हुंदा सेयर बजारलाई जुवा घर भनि दिदा नेपालको सेयर बजारले नराम्रोसित बियरिस मोड समातेको थियो ।

सेयर बजारलाई जुवा घर भन्नु पूर्णत गलत हो । जुवामा लगानी गरिदैन, दाउ लगाईन्छ । जुवामा हालेको पैसाले लाभांश प्राप्त हुँदैन । जुवा मनोरञ्जनको लागी खेलिन्छ । कोहि कोहि पेशेवर हुनु बेग्लै बिषय भयो । जुवा र सेयर बजारमा रहेको एउटा समान्ता भनेको भविष्यमा हुनसक्ने प्रतिफलको अन्दाज गरेर पैसा लगाउनु रहेको छ । यस बाहेक सेयर बजार कुनै हालतमा जुवासँग समानता छैन । बजारबाट सेयर किनेपछि मूल्य घटनु र बढनुमा यसको आफ्नै विशषता रेहको हुन्छ । मूल्य घटनु र बढनु भनेको दुवाः कि तिर्की निस्के जस्तो होईन ।

नेपालको सेयर बजारले आफ्नै भिन्न विभिन्न विषेशताहरु बोकेको छ । प्रमुख विशेषता भनेको नेपालको सेयर बजारमा सिमीत सूमहको हालीमुहाली छ । अन्य देशहरुको तुलनामा सूचीकृत कम्पनीहरु कम छन । ब्रोकर संख्या सिन्डिकेट गर्न सक्ने अबस्थामा रहेको छ । आधुनिक तथा बिकसित बित्त औजारहरुको नेपालको सेयर बजारमा लागू भएको छैन । त्यस्तै अन्य चलायमान विशेषताहरु यस प्रकार रहेका छन ।

   बोनस सेयर र हकप्रद सेयरको नाममा सेयर मूल्य उचालिने गरेको छ । बोनस सेयर र हकप्रद सेयरको

बहानामा सेयर किन्न हौस्याउने पनि उत्तिकै रहेको छ र किन्ने पनि उत्तिकै रहेका छन । तर बोनस सेयर र हकप्रद सेयर जारी पश्चात हुने मूल्य समायोजनमा खासै चर्चा हुने गरेको छैन । बोनस सेयर र हकप्रद सेयरको बुक क्लोज हुने बेला तुलनात्मक भोलुम र प्राय जसो मूल्य बढने गरेको छ । मूल्य समायोजन पछि समायोजित मूल्य झन घटने गरेको छ । मूल्य समायोजनका कराण कुनै बेला दुई हजार, तीन हजार पर्ने सेयरहरु अहिले बजारमा दुई सय, तीन सयमा पाईन्छ ।

बोनस र हकप्रदले सेयरको संख्या बढाउने मात्र गरेको छ । दोस्रो बजारमा सेयर किन्नेलाईकुल value बढाउने गरेको छैन । छोटो अवधिको लागानीकर्तालाई मूल्य उचालिएको भाउमा सेयर किन्नु बेफाईदा छ नै लामो अवधिको लागानीकर्तालाई पनि यसले खासै फाईदा दिने गरेको छैन ।

तसर्थ बोनस सेयर र हकप्रद सेयरको नाममा सर्वसाधारण लगानीकर्ताले उचालिएको भाउमा किन्नु लाभदाय हुँदैन । बुक क्लोज हुने बेला बेचेर मूल्य समायोजन पछि घटदो सेयर मूल्यमा पुन सेयर खरिद गर्दा लाभ मिल्न सक्छ । बजार चरम बुलको अबस्थामा मूल्य समायोजन पछि पनि मूल्य बढने हुंदा बुक क्लोजको दिन किन्दा फाईदा हुन्छ ।

  • मिडिया र सामाजिक संजालमा सानो पुंजीको कम्पनीहरुको चर्चा कम र ठूलो पुँजीको कम्पनीहरुको चर्चा बढी हुने गरेको छ । जसले गर्दा सर्वसाधारण लगानीकर्ताहरु ठूला पुँजीको कम्पनीहरु किन्न प्रति लागीरहेको देखिन्छ । धेरै जसो सानो पुँजीका कम्पनीहरुको बजार मूल्यमा छिटो उतार चढाव हुने गरेको छ । बजारबाट छिटो नाफा लिन चाहानेले चनाखो साथ कारोबार गरेमा यसबाट छिटो नाफा कमाउन सकिन्छ । साथै घाटा हुने सम्भावना पनि उत्तिकै रहेको छ । साना कम्पनीमा ठूलो संख्यामा रहेका सर्व-साधारण झमिने हो भने यसको सप्लाई दिन ठूलालाई गार्हो हुन्छ । त्यसैले मिडिया र सामाजिक संजालमा यी कम्पनीको चर्चा कम हुनुको कारण ठूला लगानीकर्ताहरु यसमा सर्वसाधारणहरु ठूलो संख्यामा नपसुन भन्ने हुन सक्छ । सर्व-साधारणले साना कम्पनीको सेयर पनि आफ्नो पोर्टफोलियोमा बढाउंदा प्रतिफल बढाउन सक्ने सम्भावना रहेको छ ।
  • मिडिया, सामाजिक संजाल र हल्लाले संसारको सबै सेयर बजारहरु प्राभावित हुन्छन । मिडियाको उपयोग सर्वसाधारणमा आफ्नो अनुकूल मनोविग्यान बनाउन सेयर खेलाडीहरुबाट हुने गर्छन । यो कार्य नेपालको सेयर बजारमा पनि प्रशस्त देखिन्छ । अहिले मूलत अनलाईन मिडिया, युटयुब र समाजिक संजाल प्रमुखरुपमा उपयोग भईराखेको छ । नेपालको सेयर बजारमा जब जब सेयर बढन थाल्छ, धेरै युटयुब प्राबिधिक बिश्लेषकहरुको विश्लेषण बढ्न थाल्छ । एवम् रितले अनलाईन मिडियामा ठूला, पुराना लगानीकर्ताहरुको अन्तर्वार्ता र भनाई छरपस्ट फैलिन थाल्छ । यिनीहरुको मूल उदेश्य भनेको सर्व साधारणलाई किन्न हौस्याउने रहेको हुन्छ । जब मूल्य एउटा उचाईबाट झर्न थाल्छ अनि सर्व साधारणलाई थम्थम्याउने प्रयास हुन्छ । झर्नेक्रम चल्दै जान्छ अनि क्रमशः प्राविधिक विश्लेषक र ठूला, पुराना लगानीकर्ताहरुको अन्तर्वार्ता सबै हराउन थाल्छन । अनि क्रमशः अनलाईन पत्रिकामा डर देखाउने प्रयास शुरु हुन्छ । ठूला लगानीकर्ताबाट सेयर बजारमा डर र लोभको मनोविग्यानलाई मिडियाबाट मज्जाले उपयोग गरेको देखिन्छ ।

यी बाहेकभित्रि सूचनाको आधारमा नेपालको सेयर बजारमा हुने गरेको छताछुल्ल कारोबार छँदैछ । आम पाठक वर्गलाई यहाँले अनुभव गर्नु भएको अन्य विशेषताहरु हामीलाई कमेन्ट वा ईमेल मार्फत बांडन अनुरोध छ । तपाईको अनुभव र ग्यानलाई आम लगानीकर्तासम्म पुर्याउने छौ । सेयर बजारमा ठूलाको बल मिच्याईलाई केहि मात्रामा भए पनि कम गर्न सहयोग मिल्नेछ ।