जाइकाले डोल्मा इम्प्याक्ट फण्डमा ७२ मिलियन लगानी गर्ने

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा फण्ड म्यानेजमेन्टद्वारा प्रवर्द्धित स्वपुँजी लगानी डोल्मा इम्प्याक्ट फण्डमा लगानी गर्ने भएको छ । जाइकाले दोस्रो चरणको डोल्मा इम्प्याक्ट फण्डमा ७१.९६ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको हो ।​ जाइकाले फण्डमा विश्व बैंकको वित्त कर्पोरेशनको सहवित्तीयकरणमा लगानी गरेको जनाएको छ । यस्तै, उक्त लगानीमा नेदरल्याण्ड्सको उद्यमशिलता विकास बैंक, बेलायत सरकारको विकास बैंक, स्वीडेन सरकारको विकास वित्तीय संस्था र अमेरिकी सरकारको विकास वित्तीय नियोगले समेत सहवित्तीयकरण गरेका छन् ।

नेपालमा स्वास्थ्य सेवा, सूचना/डिजिटल प्रविधि क्षेत्र जस्ता सम्भावनापूर्ण क्षेत्रहरूमा थप लगानी अपरिहार्य रहेकाले लगानी गरेको जाइकाले जनाएको छ । प्राकृतिकरूपमै प्रचुर मात्रामा उपलब्ध जलस्रोतको परिचालन गरी जलविद्युतको उत्पादन गर्न समेत लगानी जरुरी रहेको बताइएको छ ।

डोल्मा फण्ड म्यानेजमेन्टले औद्योगिक विकास, रोजगारी र नवीकरणीय ऊर्जाको विकासलाई बढवा दिने किसिमका कोषहरूको व्यवस्थापन गर्दछ । डोल्मा इम्प्याक्ट फण्डको पहिलो र दोस्रो चरणको लगानीले नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरू, सूचना/डिजिटल प्रविधि कम्पनीहरू र स्वास्थ्य सेवाका कम्पनीहरूमा लगानी गर्नुका साथै प्राविधिक सहयोग समेत उपलब्ध हुँदै आएको छ ।

डोल्मा फण्डले म्यानेजमेन्ट डोल्मा इम्प्याक्ट फण्ड पहिलो र दोस्रो गरी कूल १०८.५ मिलियन अमेरिकी डलरको पुँजी परिचालन गर्ने छ । हालसम्म ४ नवीकरणीय ऊर्जा, ३ स्वास्थ्य सेवा, ६ सूचना प्रविधि डिजिटल सेवा सम्बन्धी कम्पनीहरूमा लगानी प्रतिबद्धता गरिसकेको छ । यसबाट ९५४२ व्यक्तिलाई प्रत्यक्ष रोजगारी तथा हरेक वर्ष ३ लाख ६९ हजार ९९६ टन हरित गृह ग्यास उत्सर्जन कम गर्न मद्दत पुगेको छ ।