मंगलबार नेप्सेकाे शुभ संकेत, स्थायित्वमा शंका

आइतबार त्रासढी ढंगले घटेको सेयर बजारले साेमबार र मंगलबार लगानीकर्तालाई राहतको श्वास फेर्ने अवसर दिएको छ । बजार १८०० मुनि नजानु सुखद पक्ष रहेको छ । अब १९०० माथि बजार जान्छ कि जादैन, यो प्रतिक्षाको बिषय रहेको छ ।  बजार १९०० माथि टिक्नु सर्व हिताय रहेको संकेत पटक पटक नेप्से १८०० मुनि जान नदिनु वा नखोज्नुले दिएको छ ।

प्राविधिकरुपमा नेप्सेले ट्रिपल बटम लगाएको छ यानी ३ पटक १८०० को तहमा आएर नेप्से उकालो फर्केको छ । यदि बुधबार र बिहीबार पनि नेप्से उकालो नै लाग्यो भने नेप्से अर्को उचाई यानी २००० माथिको तहमा जाने सम्भावना धेरै हुनेछ ।

मंगलबार कारोबारको शुरुवाती समय देखि नै नेप्सेले उकालो यात्रा तय गर्यो । विच विचमा सामान्य उतारचढाव भएता पनि अन्तिम समयमा उकालो चढेरै  बजार बन्द भयो । करिब १ बजेतिर नेप्सेले आजको उच्चतम विन्दु १८८१।२१ लाई भेट्टायो भने यस भन्दा सामान्य तलको विन्दु १८७३।११ मा आज नेप्से रहयो ।

मंगलबारको भोलुम साेमबारको तुलनामा करिब ५% ले बढेको छ । मंगलबारको कुल भोलुम ९३ करोड बराबरको रहेको छ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा पहिलो घण्टामा आएको क्रमिक बढदो भोलुमले बजारलाई जुरुक्क माथि उचालेको छ । त्यसपछिका भोलुमले बजारलाई माथि नै थाम्यो । आज पनि अन्तिम १० मिनेटमा आएको तुल्नात्मक धेरै भोलुमले बजारलाई माथि थेग्न सहयोग गरेको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

मंगलबार  जम्मा १ सय ५३ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने ४६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

मंगलबार सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को तल्लो रेखा तल तिर फर्केको छ भने माथिल्लो रेखा पनि तलतिरै फर्केन खोजेको छ। त्यसतै मध्ये रेखा तलतिर फर्केको छ । मंगलबारको उल्लेखनीय पक्ष भनेको नेप्से ब्यान्ड भित्रै बसेको छ र मध्ये रेखातिर अघि बढने संकेत गरेको छ । माथिल्लो र मध्ये रेखा दुवै तल फर्केको कारण नेप्सेले छिट्टै मध्ये रेखालाई अबरोधककोरुपमा सामना गर्नुपर्ने हुन्छ । नेप्सेले मध्ये रेखा छिचोलेको खण्डमा नेप्सेको उकालो यात्रा दिगो हुनेछ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से दोस्रो आड (Support, S2) भन्दा माथि बसेको छ । यसले बुधबार नेप्सेले पहिलो आड (Support, S1) मा अबरोध सामना गर्ने सम्भावना देखाउँछ। जुन १९०० को आसपास रहेको छ । नेप्से पुन ओरालो लागेमा दोस्रो आड (Support, S2) को वरिपरी रहेने सम्भावना देखाएको छ ।

मंगलबार  उकालो लागेको बजार दिगो हुनको लागी भोलि पनि उकालो लाग्नु जरूरी छ । आज नेप्से बढेसँगै सुस्तरी भोलुम बढनु सकारात्मक संकेत हो । अस्वभाविक भोलुम बढेको भए pumping कोसम्भावना धेरै रहन्थ्यो ।

जोखिम र प्रतिफल सेयर बजारको सबभन्दा सुन्दर र आकर्षक पक्ष हो । सर्वसाधारण लगानीकर्ताहरु निष्क्रिय बस्नु भन्दा गच्छे अनुसार जोखिम ब्यबस्थापन गर्दै कारोबारमा स्मार्टपूर्वक सक्रिय सहभागी हुनु सर्वोपरी हितकारी हुनेछ । ठुला लगानीकर्ताहरुले आफ्नो बल बुत्ताले मात्र बजारलाई धेरै तल लान नसक्ने पुष्टि  मंगलबारको बजारले पुन गरेको छ ।

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा   www.nepsealpha.com