इन्धन खपत कम गर्न साइकल -याली

इन्धन खपतमा कमी ल्याउँदै बढ्दो प्रदूषण र सवारी चाप कम गर्ने उद्देश्यका साथ पोखरामा यही पुस ६ देखि ९ गतेसम्म ‘टुर दी पोखरा’ कार्यक्रम आयोजना गर्न लागिएको छ ।

छैटौँ टुर दी पोखराअन्तर्गत साइकल -याली र साइकल दौड प्रतियोगिता हुने कार्यक्रम संयोजक राजन गोङ्गजुले जानकारी दिए । स्वास्थ्य, वातावरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘थोपाथोपा इन्धन बचाऔँ’ भन्ने मूल नाराका साथ हुने कार्यक्रमअन्तर्गत पुस ६ गते दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता, २०७९ हुँदैछ । जसको आयोजना पोखरा महानगर र पोखरा महानगरपालिका खेलकुद विकास समितिले गर्ने र प्राविधिक सहयोग साइकल सिटीको हुने संयोजन गोङ्गजुले बताए ।

पुस ८ गते बाग्लुङ कालिकादेखि बिन्ध्यवासिनीसम्म साइकल यात्रा गरिने साइकल सिटी पोखराका अध्यक्ष अभिषेश कोइरालाले जानकारी दिए । -यालीमा एक हजार पाँच सय साइकलयात्री सहभागी हुने उनले बताए । जसमा पाँच सय पोखरा बाहिरबाट सहभागी रहने उहाँको भनाइ थियो । कार्यक्रमको अन्तिम दिन पुस ९ गते पोखरा उपत्यकामा साइकल -याली हुँदैछ ।

सन् २०१५ देखि सुरु भएको टुर दी पोखराले साइकल संस्कृतिप्रति जनमानसमा सकारात्मक परिवर्तन हुँदै गएको गोङ्गजुले जानकारी दिए । पोखरामा लगभग पाँच हजार जनाले साइकल चलाउने गरेको उनले बताए । यहाँ वार्षिक दुई हजार पाँच सय साइकल बिक्री हुने गरेको तथ्याङ्क छ । पोखराका विभिन्न पसलमा २० हजारदेखि दुई लाखसम्मका साइकल बिक्री हुने गरेको उहाँले जानकारी दिएका छन् ।