संसदीय दलको उम्मेदवारमा छिटाे सहमति खोज्न गगन–शेखरलाई आग्रह

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुले संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नेताद्वय शेखर कोइराला र गगन थापालाई आग्रह गरेका छन् ।

कांग्रेसको निर्वाचन समितिले संसदीय दलको नेताका लागि भोलि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यसको अघिल्लो दिन सोमबार विहान डा. शेखर र महामन्त्री थापाबीच कुराकानी भएको थियो ।

दिउँसो समूहका नेताहरु छलफलमा जुटेका थिए । एक सहभागीका अनुसार महामन्त्री गगन थापाले आफूले संसदीय दलको नेतामा चुनाव लड्ने भनेर मत मागेको बताए । अहिलेको अंगकणितले संसदीय दलको चुनाव जित्ने अवस्था पनि भएकाले आफूलाई उम्मेदवार बन्न दिन उनले आग्रह गरेका थिए । उनले भनेका छन्, ‘मेरो नेता शेखर कोइराला हो, यसमा शंका गर्न जरुरी छैन ।’

डा. शेखरले भने १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग आफूले प्रतिस्पर्धा गरेकाले आफ्नै नेतृत्वमा अघि बढ्दा के फरक पर्छ भनेर प्रश्न गरेका थिए ।