घस्रेर १९०० माथि बस्न संघर्ष गर्दै नेप्से

नेप्सेले निरन्तर ‌ओरालाे यात्रामा राेकावट हुने संकेत दिएकाे छ । प्राविधिकरुपमा बजार माथि नै जाने सम्भावनाको संकेत रहेता पनि, आज सो हुन सकेन । अन्तिममा झिनो अंकले भए पनि हिजोको तुलनामा बजार नकारात्मक नै रहयो । बजारले आज १९०० को विन्दुलाई आधार मानेर निकै उतारचढाव गर्यो ।

शुरुको केहि मिनेटमा नेप्से ओरालो लागेको थियो । तत् पश्चात  नियमित कारोबारको पहिलो घण्टामै उकालो लागेर आजको उच्चतम विन्दु १९०४।७५ लाई नेप्सेले भेट्टाए पश्चात ओरालो लाग्यो । ओरालो यात्रा आजको न्यूनतम विन्दु १८८८।८२ सम्म कायम रहयो । त्यस पछि उकालो ओरालो गर्दै नेप्से १८९९।७० विन्दुमा आजको बजार बन्द भयो । यो हिजोको तुलनामा २।५७ अंकले घटेको हो ।

आजको भोलुम अघिल्लो दिनको तुलनामा करिब ४३% ले घटेको छ ।आजको कुल भोलुम ७७ करोड बराबरको रहेको छ । नेप्से घटेसँगै भोलुम घटेकोछ । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा अन्तिम १० मिनेटमा आएको भोलुमले नेप्सेलाई १९०० को विन्दु मुनि लाने किन माथि लाने विच रस्साकस्सी भएको देखाउँछ ।यस भन्दा अगाडिका मिनेटहरुमा आएको भोलुमले नेप्सेलाई तल माथि झार्ने र तान्ने काम गरेको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

आज जम्मा ९० वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) को तीनवटै रेखाहरु समानान्तर रेखामा रहेको छ । यसले बजार ओरालो लाग्ने सम्भावानालाई घटाएको छ। आजको विचारणीय पक्ष भनेको नेप्से तल्लो रेखामा आई पुगेन । भोलि ब्यान्डको मध्ये रेखा छिचोलेर माथि बसेमा बजारको उकालो यात्रालाई बल मिल्ने छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आज पहिलो आड (Support, S1) माथि नै बसेको छ । उल्लेखनीय पक्ष भनेको करिब दोस्रो आड (Support, S2) मा टेवा लिएर नेप्से पुन माथि गएको छ । यसले नेप्से पहिलो आड (Support, S1) भन्दा तल जाने सम्भावनालाई घटाएको छ । भोलि उकालो लागेमा पिभोट तह करिब १९३५ विन्दु अबरोधक हुन सक्छ ।

बजार २००० माथि जाने सम्भावनाका दिनहरु अझै टाढिदै गएको छ । बजार घटने र बढने क्रममा कसरी आफ्नो पुँजीवाट लाभ लिने र पुँजी चलायमान राख्ने हो ? यसबारे ठूलो संख्यामा रहेको सर्वसाधारण लगानीकर्ताहरु स्मार्ट हुने र धेरै लोभ नगर्ने प्रयास गर्नु हितगाही हुन्छ ।

विश्वब्यापीरुपमा नै प्राविधिक औजारहरुको संकेतको विश्वसनीयतालाई ६०% देखि ८०% सम्मलाई मानेको छ । नेपालको सेयर बजारको चरित्रलाई पनि ख्याल गर्दा विल्कुलै काम नगरेको अबस्था चाहिँ होईन । तर नेपालमा बजारलाई केही मुठ्ठिभरले कब्जामा राखेको छ । तिनीहरुको सार्वजनिक पैसामा रहेको पहुँच र भित्रि सूचनाको उपलब्धताले सेयर बजारको प्राकृतिक लयलाई बिगार्दछ । जसको कारण प्राविधिक औजारहरुको संकेतले काम गर्दैन । अर्थ सुध्रिएको आधिकारीक निकायबाट धारणा आई सकेको छ। बैंकको ब्याज नबढने तर घटन सक्ने सम्भावना लगभग शुनिश्चित नै भई सक्यो । यस्तो माहौल विच सेयर बजार नबढनुलाई स्वभाविक मान्न सकिदैन ।

हिजो हामीले अनुमान लगाएका थियौँ । अन्तिम १० मिनेटमा बढेको बजारले भोलि बढ्छ नै भन्नेमा शंका चाहि उब्जाएको छ । शंका आज  ठहरिएको छ । आजको अन्तिम १० मिनेटको कारोबारलाई मध्ये नजर राख्दा भोलि यसै हुन्छ भन्न गार्हो छ । कामना गरौ बजार १९०० माथि नै थामियोस ।

जोखिम र प्रतिफल सेयर बजारको सबभन्दा सुन्दर र आकर्षक पक्ष हो । सर्वसाधारण लगानीकर्ताहरु निष्क्रिय बस्नु भन्दा गच्छे अनुसार जोखिम ब्यबस्थापन गर्दै कारोबारमा स्मार्टपूर्वक सक्रिय सहभागी हुनु सर्वोपरी हितकारी हुनेछ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com