कहिलेसम्म गर्छ, सेयर बजारले सर्वसाधारणको मनोबल परीक्षण

लगातार चौथो दिन आज नेप्से घटेको छ । अघिल्ला तीन दिनको तुलनामा आज चर्कोसित नेप्से ओरालो लागेको छ । नियमित शुरुवाती मिनेट देखि नै ओरालो लागेको नेप्से, ओरालो लाग्ने क्रममा कतै ब्रेक नलागी आजको न्यूनतम विन्दु नजिक १८८५।३१ मा बजार बन्द भयो । यो अघिल्लो कारोबार दिनको तुलनामा ३१।९७ अंक (१।६७%) ले घटेको हो ।

अब कति ओरालो लाग्न सक्छ ? यो आम सर्वसाधारण लगानीकर्ता रहेको जिज्ञाशा हो ।

मूलत नेपालको सेयर बजार प्राकृतिक लयमा बगेको छैन । उचाल्ने र थचार्ने समूहको तागतमा नै चलेको छ । सर्वसाधरणले जोखना हेरेर लगानी गर्नु पर्ने अबस्था रहेको छ भने नियामक निकायहरु रमिते बनेका छन ।

यसभन्दा अगाडिको लेखमा हामीले लेखेका थियौँ ठूला कारोबारीले बजार घटदा पनि कमाउने रणनीति बनाउँछन, बजार बढदा पनि कमाउने नै गर्छन । मुर्गा बन्ने भनेको सर्वसाधारण नै हुन । जसको न भित्री सूचनामा पहुँच हुन्छ न आफ्नो खल्ती भन्दा बाहिरको पैसा नै चलाउन सक्छन । तर सर्वसाधारणले बजारको चरित्र हेरी स्मार्ट कारोबार गर्न सक्छन ।

आजको भोलुम अघिल्लो दिनको तुलनामा करिब ३३% ले घटेको छ ।आजको कुल भोलुम १ अर्ब १० करोड बराबरको रहेको छ । तर अघिल्लो दिनमा सानिमा बैंकको संस्थापक सेयरको कारोबारको हिसाब नगर्ने हो भने अघिल्लो दिनको तुलनामा १२ करोडले आजको कारोबार बढेको छ । नेप्से घटेसँगै भोलुम बढेको आज मान्न सकिन्छ  । कुल कारोबार समयलाई १० मिनेटमा बिभाजन गर्दा अन्तिम ३० मिनेटमा अन्य समयको तुलनामा क्रमागत ढंगले भोलुम बढेको छ । यस भन्दा अगाडिका मिनेटहरुमा चाहिँ एकै नासकाे भोलुम रहेको छ । एकै नासकाे भोलुमले बजार क्रमश घटाएको छ । अन्तिम आधी घण्टामा घटदो मूल्यमा सेयर बिक्री बढेको अनुमान गर्न सकिन्छ । अन्तिम आधी घण्टामा या त लगानीकर्ता आँटिए या बजार केही बढाउला भनेर बजारलाई थप दबाईएको छ ।

Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट

आज जम्मा २५ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ८० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को तीनवटै रेखाहरु तल फर्केको छ । यसले बजार ओरालो लाग्ने सक्ने सम्भावानाको संकेत गर्दछ । आजको विचारणीय पक्ष भनेको नेप्सेले तल्लो रेखामा टेवा लिने प्रयास पनि गरेको छ । यसले बजार माथि तिरै पो फर्कने हो कि भन्ने आशा पनि कायम गरेको छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आज पहिलो आड (Support, S1) नेप्सेले टेवालिन सकेन र यस भन्दा मुनि नै बसेको छ । नेप्सेले भोलि तल झरेमा दोस्रो आड (Support, S2) मा टेवा लिन सक्ने छ । यस भन्दा तल गएमा बजार पुन १८०० को तहमा बजारले तेस्रो परीक्षण गर्नेछ । जुन बजारको लागी सकारात्मक संकेत होईन ।

बजार २००० माथि जाने आश गर्दा गर्दै १८०० नझरोस भन्ने कामना सर्वसाधारण लगानीकर्ताले गर्नु परेको छ । माईबापले बजारलाई १८०० र २००० को बिचमा खेलाई राख्ने हो कि भन्ने आशंका ज्यूकात्यू रहेको छ । बजार घटेने क्रममा कसरी आफ्नो पुँजीवाट लाभ लिने र पुँजी चलायमान राख्ने हो ? यसबारे ठूलो संख्यामा रहेको सर्वसाधारण लगानीकर्ताहरु स्मार्ट हुने प्रयास गर्नु हितकारी हुन्छ । बजारलाई ठूला कारोबारीको एकल बलबुत्ताले मात्र बजारलाई धेरै तल लान सक्दैन । साथै माथि लगेर सर्बसाधारणलाई मारमा पार्न पनि सक्दैन ।

तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com