कवि रुद्र ज्ञवालीका एक दर्जन कविता गुञ्जिए

मङ्सिर १० गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा भैरहवाका प्रगतिवादी कवि रुद्र ज्ञवालीका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानकी सङ्घर्षशील अभियन्ता शान्ता मानवी उपस्थित हुनुहुन्थ्यो भने एमाले सल्लाहकार परिषद् सदस्य एवम् प्रगतिशील लेखक सङ्घ नेपालका पूर्व अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी र प्रखर समालोचक एवम् कवि प्रा.डा.रामप्रसाद ज्ञवाली विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका माधव प्रधान र राममणि ढुङ्गेल, मदन भण्डारी फाउन्डेसनकी पेम्बा लामा, प्रखर कवि एवम् बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, प्रगतिशील लेखक सङ्घकी उपाध्यक्ष नमुना शर्मा, प्रलेस बागमती प्रदेश संयोजक एवम् अविरल जनसाहित्य यात्रा संयोजन समितिका सदस्य डा.हरिप्रसाद सिलवाल, प्रलेस काठमाडौँ जिल्ला अध्यक्ष ज्ञानु विद्रोही, डा.गोविन्दप्रसाद आचार्य, सहयोगी कविहरू अनुराधा ढकाल, देबु लुइटेल, रूपक अलङ्कार, ज्ञानु विद्रोही र रमेश पोखरेल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा नेपाली कम्युनिस्ट आन्दोलनका अभियन्ता एवम् साहित्यकार हर्ष स्याङ्ग्बोको हालै देहावसान भएको दुखद घडीमा एक मिनेट मौन धारण गरी कार्यक्रमको प्रारम्भ गरिएको थियो । कार्यक्रम सञ्चालक प्रकाश सिलवालले कविनायक रुद्र ज्ञवालीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै वि.सं.२०२० कार्तिक १ गते गुल्मी जिल्लाको कोलौदी रुरुक्षेत्र २ मा माता टीकादेवी ज्ञवाली र पिता रुक्माङ्गत ज्ञवालीका सुपुत्रका रूपमा जन्मिएका रुद्र ज्ञवाली हाल रुपन्देही जिल्लाको सि.न.पा वडा नं.८ वी.पी.पथमा बसोवास गरिरहेका छन् । सिङ्गो जीवन निजामति सेवामा समर्पित गरेर अवकाश प्राप्त गरेका ज्ञवाली २०४४ सालमा पत्रशैलीको कथा प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका हुन् । स्नातक उत्तीर्ण ज्ञवालीका छन्द कविता, गीत, गजललाई स्थापित गायकहरूद्वारा गाइएको छ, रेकर्डिङ गरिएको छ ।

ज्ञवालीले हालसम्म ‘निर्वासन’ कथासङ्ग्रह २०५८, ‘सपना फुल्ने रातहरू’ गजलसङ्ग्रह २०६१, ‘विवरुका कथाहरू’ कथासङ्ग्रह सहप्रकाशन २०६६, ‘उन्मुक्त आकाश’ मुक्तकसङ्ग्रह २०६६, ‘असल साथी’ बालकथासङ्ग्रह २०७२, ‘पात्रहरू’ कथासङ्ग्रह २०७३, ‘रुझेर अग्निवर्षामा’ मुक्तकसङ्ग्रह २०७५ जस्ता कृतिहरू प्रकाशित गरी नेपाली साहित्यमा भण्डारण गरिसकेका छन् । एक दर्जनजति सङ्घसंस्थामा संलग्न रही क्रियाशीलता देखाइरहेका ज्ञवालीले ‘दियालो’, ‘शान्तिनारायण स्रष्टा र सिर्जना’जस्ता कृतिको सम्पादनसमेत गरेका छन् । नेपाली साहित्यका क्षेत्रमा उनले देखाएको सक्रियताका निम्ति दुई दर्जन सङ्घसंस्थाले उनलाई सम्मान तथा पुरस्कार अर्पण गरेका छन् ।

विगत दुई दशकदेखि दर्जनौँ पत्रपत्रिकामा सयौँको सङ्ख्यामा फुटकररूपमा लेख, निबन्ध, कथा, लघु कथा, बालकथा, हाइकु, कविता, गजल प्रकाशित गरिरहेका र साहित्यिक गतिविधि र समाजसेवाका क्षेत्रमा सक्रिय रहने रुचिसमेत भएका ज्ञवाली आफ्ना सिर्जनामा समसामयिक परिवेशको जीवन्त चित्रण गर्दछन् र समाजको सकारात्क रूपान्तरणको स्पष्ट अपेक्षा गर्दछन् । सामाजिक परिवेशले सिर्जना गरेको प्रतिकूल अवस्थालाई उजागर गर्ने, उदिङ्ग्याउने र रूपान्तरणको स्पष्ट आग्रह गर्ने ज्ञवाली सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने स्रष्टा हुन् । छन्दलाई आफ्नो पूर्ण नियन्त्रणमा राखेर गम्भीर भावका कवितासिर्जना गर्ने कवि ज्ञवालीलाई आज हामीले अविरल जनसाहित्य यात्राको यस ७३ औँ शृङ्खलामा उपस्थित गराएका छौँ भन्नुभयो ।

समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिनुपर्छ भनेर अगाडि बढाइएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा आपूmलाई समर्पित गरिरहेका, राष्ट्रसेवकका रूपमा लामो जीवन बिताएर अवकाश ग्रहण गरेका रुद्र ज्ञवालीलाई प्रस्तुत गरिएको धारणा राख्नुभयो । कविनायकलाई प्रमुख अतिथिले माल्यार्पण गर्नुभयो ।

कविनायक रुद्र ज्ञवालीले विगत छ वर्षदेखि अविरल सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्दछु । मैले कविता सिर्जना गरेको चाहिँ स्पष्टतः सामाजिक रूपान्तरण अभियानलाई सघाउनका लागि हो । लेखनको उद्देश्यमा भने म आपूm अत्यन्त प्रस्ट रहेको छु । म हराएको मान्छेलाई खोजी गरेर यहाँसमम बोलाई आफ्ना एक दर्जन कविता वाचन गर्ने अवसर आज पाउँदा मलाई आफ्नो मूल्याङ्कन अरूले गर्दारहेछन् भन्ने लागेको छ । जब जब देशमा देखिएका बेथितिले मलाई दुखाउँछन् तब मैले सिर्जना गर्ने र त्यही सिर्जनामार्फत आफुलाई अभिव्यक्त गर्ने गरेको छु भन्नुहुँदै कवितासिर्जनाको अन्तरगर्भको जाननकारीका साथ भुजङ्गप्रयात छन्दको ‘नेपाल बन्दना’ शीर्षकको, इन्द्रबज्रा छन्दको ‘जीवनकथा’ शीर्षकको, अनुष्टुप छन्दको ‘द्वन्द्वबीज’ शीर्षकको, अनुष्टुप छन्दकै ‘आमा हाम्री वसुन्धरा’ शीर्षकको र शार्दूलविक्रीडित छन्दको ‘नेपाल जप्दै मरूँ’ शीर्षकका अत्यन्त सशक्त, सुन्दर र मनोहारी कविता वाचन गर्नुभयो । उहाँका अनुष्टुप छन्दको ‘अभेध्य दुर्ग’ शीर्षकको र शार्दूलविक्रीडित छन्दको ‘विषवृक्ष’ शीर्षकको कविता अत्यन्त सुमधुर लयमा देबु लुइटेलले वाचन गर्नुभयो भने अनुराधा ढकालले शार्दूलविक्रीडित छन्दको ‘प्रश्नको पिरामिड’ शीर्षकको, ज्ञानु विद्रोहीले अनुष्टुप छन्दको ‘आज नेपाल बन्द छ’ शीर्षकको, रमेश पोखरेलले शार्दूलविक्रीडित छन्दकै ‘के हुन्छ यो विश्वमा’ शीर्षकको र रूपक अलङ्कारले भुजङ्गप्रयात छन्दको ‘यो देशलाई’ शीर्षकको र शार्दृूलविक्रीडित छन्दको ‘फर्किन्न बालापन’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.रामप्रसाद ज्ञवालीले अविरल जनसाहित्य यात्राको यो अभियान ७३ औँ शृङ्खलामा पुगेको र यो अभियानमा आज म आपूm पनि कवि रुद्र ज्ञवालीका कविता सुन्न र कवितामाथि टिप्पणी गर्न उपस्थित हुँदा गौरवबोध भएको छ । कवि ज्ञवाली कविताका अभिभावक हुनुहुन्छ र उहाँ छन्दमा युगबोध हुँदैन भन्नेलाई कविताबाटै जबाफ दिने स्रष्टा हुनुहुन्छ । रुद्र ज्ञवालीका कविताले कवि चिनाएका छन् र आज वाचित कवितामा उहाँले चारओटा छन्दको प्रयोग गर्नुभएको छ । कवितामा देशप्रतिको अदभुत प्रेम अभिव्यक्त भएको छ, राष्ट्रिय गौरवगान गाइएको छ, अनागरिकलाई सहज नागरिकता दिने मनसाय राखी ल्याइएको विधेयकको विरोध गरिएको छ । कवितामा देशको चिन्ता रहेको छ, सशक्त व्यङ्ग्यचेतना अभिव्यक्त भएको छ, प्रकृतिको मूल स्वभाव परिवर्तन नहुने भन्दै प्रकृतिलाई गुरु मानिएको छ । देश बिग्रिन लागेको चिन्ता र पीडा कवितामा अभिव्यक्त भएको छ । कवितामा चेतनाको स्रम्प्रेषणका माध्यमबाट कविले नागरिक दायित्वसमेत निर्वाह गरेको देखिन्छ । हामी आपूmले आफैँलाई चिन्ननसकेको यथार्थ कवितामा अभिव्यक्त भएको छ ।

जीवन भनेको गति हो भन्ने मान्यतालाई आत्मसात गर्दै कवितामा प्रखर वर्गीय चेतना अभिव्यक्त भएको, श्रमजीवी वर्गको पीडाको उदात्तीकरण भएको, श्रमको सम्मानका पक्षमा वकालत गरिएको, श्रमका लागि निर्देश गर्ने मानवीय चेतना उजागर गरिएको छ । बुद्धि पुर्याएर गरिएको परिश्रमको फल मात्र मिठो हुन्छ भन्ने मान्यतालाई पनि कविताले उजागर गरेको पाइन्छ । नेपाल बन्दका नाममा भोगिएको पीडा उजागर गरी मुर्दा शान्तिको विरोध गरिएको छ, चिन्तन र चरित्रमा तालमेल नदेखिएको राजनीतिक चरित्रका प्रति शालीन आक्रोश व्यक्त गरिएको छ ।

स्रष्टाले अग्रजको प्रभाव ग्रहण गर्दछन् र यहाँ पनि गरिएको छ । संस्कृतिका, धर्मका नाममा सिर्जना गरिएका कुरीतिका प्रति विरोध गरिएको छ । समाजमा द्वन्द्व किन हुन्छ भन्ने कुराको कारण उजागर गरिएको छ, बुझाइ र भोगाइमा पनि द्वन्द्व हुन्छ अनि वर्गीय खाडलले द्वन्द्व सिर्जना गर्ने सशक्त वैचारिकता सम्प्रेषण गरिएको छ । प्रकृतिका सादृश्यको अभिव्यक्ति कवितामा गरिएको छ । अमूर्त भावलाई मूर्त पार्न सादृश्य संयोजन आवश्यक हुन्छ । प्रकृतिको मानवीकरण कवितामा गरिएको छ । कविले कवितामा आफ्नो बालापन पाठकसमेतलाई मेरै बालापन हो भन्ने पारेर अत्यन्त सुन्दर ढङ्गले अभिव्यक्त गर्नुभएको छ । आन्दोलन र क्रान्तिका नाममा विषवृक्ष हुर्किएकोप्रति आक्रोश व्यक्त गर्दै नेतृत्वका प्रति कडा आलोचना गरिएको छ । कवितामा सुबोध्य लेखन पाइन्छ भने यथार्थवादी समाजबोध, समस्यापूर्तिको शैली, युगीन जीवनबोध स्पष्टरूपमा देखा पर्छ । आशय ठिक हुँदाहुँदै पनि स्रष्टाले शब्दप्रयोगमा ध्यान दिनु भने आवश्यक हुन्छ ।

कवि हुनु भनेको जिम्मेवार हुनु हो र कविताको सार्थकता पाठकमा हुन्छ । सम्प्रेष्य भएन भने कविता हुँदैन । पाठकको मनमा बस्नसक्ने र समालोचकको मस्तिष्कमा पस्नसक्ने कवि हुनुपर्छ । कविका अनुप्रभावको, निजत्वको र आविष्कारको चरण हुन्छन् । कम्तीमा निजत्वको चरणमा रहेर एउटा मोड ल्याउनसक्ने, युग बलदल्नसक्ने आविष्कारको चरणसम्म पुग्ने प्रयत्न स्रष्टाले गर्नुपर्दछ । त्यसनिम्ति कवि रुद्र ज्ञवालीलाई हार्दिक शुभकामना दिन चाहन्छु भन्ने धारणा राख्नुभयो ।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । महासङ्घका सबै घटकहरूले सिर्जनात्मक सक्रियता देखाउन् भन्ने अभिप्रायले छ वर्ष अगाडि थालनी भएको यो विशेष समारोहले निरन्तरता पाइरहेको छ । यसका लागि राष्ट्रिय जनसाहित्यिक सङ्घलाई म धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा सुन्दर कविता सुन्दर वाचनकलाका साथ सुन्दर वातावरणमा सुन्ने अवसर प्राप्त भएको छ । सिर्जनाका माध्यमबाट सशक्त वैचारिक दृष्टिकोण सम्प्रेषण गर्ने र सामाजिक रूपान्तरण अभियानलाई सघाउने उद्देश्यअनुसार नै आजको यो गोष्ठी महत्त्वपूर्ण बनेको छ भन्ने मलाई अनुभूति भएको छ । निर्वाचनले थकित पारेको अनुभूति गरिएकोमा आजको दिन अत्यन्त सुन्दर कविता सुनियो र डा.ज्ञवालीको सूक्ष्म टिप्पणी सुनेर झनै आनन्दानुभूति भएको छ । अग्रज स्रष्टा एवम् नेपालको कम्युनिस्ट आन्दोलनका समेत अग्रज व्यक्तित्व हर्ष स्याङ्ग्बोको निधनप्रति शोक व्यक्त गरी थालनी गरिएको यो विशिष्ट समारोहले अग्रजको सम्मान गर्नुपर्छ भन्ने दायित्वबोधसमेत गराएको छ त्यसैले पनि आजको समारोह महत्त्वपूर्ण रहेको छ भन्ने धारणा राख्नुभयो ।

प्रमुख अतिथि शान्ता मानवीले आजको यो समारोह सशक्त, सुन्दर र महत्त्वपूर्ण रहेको छ । आज कवि रुद्र ज्ञवालीका सुन्दर कविता श्रमण गर्ने अवसर पाइयो । कवितामा जीवन, राष्ट्रियता, नेतृत्व, सरकार, जनता, कार्यकर्ता, समाज आदि सबैका सरोकारका विषय समेटिएका छन् र ती सबै कवितामा प्रा.डा.रामप्रसाद ज्ञवाललीले अत्यन्त सूक्ष्म विश्लेषणसमेत गर्नुभएको हुँदा आजको कार्यक्रम निकै सार्थक रहेको मैले महसुस गरेकी छु । राजनीतिलाई साहित्यले निर्देश गर्ने हुँदा स्रष्टा जहिल्यै सचेत र जिम्मेवार हुनुपर्दछ भन्ने धारणा राख्नुभयो ।

विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने रुद्र ज्ञवालीले आफ्ना सिर्जनामा जनजीवनका सम्पूर्ण भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको जीवन्त चित्रण गरेका, सबै सिर्जनामा सामाजिक रूपान्तरणको स्पष्ट आग्रह रहेको, नेपाली राजनीतिमा र विशेषगरी नेतृत्वमा देखिएको विचार र व्यवहारमा तालमेल नदेखिएको अवस्थाका प्रति अत्यन्त मार्मिक अभिव्यक्ति कवितामा भएको, सामाजिक उत्पीडन र शोषणको जीवन्त चित्रण गर्दै रूपान्तरणको स्पष्ट आग्रह गरिएको, लोकतन्त्रको प्राप्तिपछि पनि समाज अपेक्षितरूपमा रूपान्तरण नभएको अनि स्वार्थी र पदलोलुपको बढोत्तरी भएको, क्रान्तिकारी खोल ओढेर राष्ट्रघातको लम्पसारवादी प्रवृत्ति मौलाएको, सत्ता स्वार्थलिप्साको घनचक्करमा रुमल्लिएको, गरिब दुःखीको जीवनस्तर नबदलिएको अवस्थाका प्रति चिन्ता जाहेर गरिएका उत्कृष्ट छन्दोबद्ध कविता सुन्न पाइयो । सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने प्रखर कवि रुद्र ज्ञवालीका बारेमा हामीले सुन्यौ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ । अर्काे महिनामा ७४ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपाल, बागमती प्रदेशसंयोजकसमेत रहनुभएका प्रखर कवि मसान उपासकलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।