निफ्राले ५ अर्बको ऋणपत्र जारी गर्ने
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको छ।
बोर्डले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति दिएको हो। गत कात्तिक २४ गते बोर्डको अन्तिम स्वीकृति पाएसँगै ऋणपत्र जारी गर्न निफ्राले तयारी गरिरहेको छ। कम्पनीले अंकित मूल्य प्रति कित्ता १ हजारका दरले ऋणपत्र बिक्री गर्ने भएको छ।
यो ऋणपत्रको नाम ७ वर्ष ७ प्रतिशत निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६ छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल छ। क्यापिटलका अनुसार कम्पनीले जारी गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरिने छ। बाँकी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र कम्पनीले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।
वार्षिक ७ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र ७ वर्ष अवधिको छ। कम्पनीले ऋणपत्र जारी गर्नका लागि स्वीकृति माग गर्दै गत असार १ गते बोर्डमा निवेदन दिएको थियो।
यो सँगै चालु आर्थिक वर्षमा बोर्डले ६ कम्पनीलाई १५ अर्ब ६० करोड बराबरको १ करोड ५६ लाख कित्ता ऋणपत्र जारीका लागि स्वीकृति दिइसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया