नवौं राष्ट्रिय खेलकुद : नेपाल प्रहरीलाई २१ स्वर्ण
नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हाल सम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले २१ स्वर्ण, १० रजत र १८ कास्य गरी कुल ४९ पदक प्राप्त गरेको छ ।
विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र ३ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, करातेमा ४ स्वर्ण, २ रजत र २ कास्य, टेबल टेनिसमा ३ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ६ स्वर्ण,२ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, २ रजत र ७ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य, भारोत्तोलनमा ३ स्वर्ण र १ रजत, लन टेनिसमा २ कास्य, ब्याडमिन्टनमा १ कास्य तथा शारीरिक सुगठनमा १ स्वर्ण गरी कुल ४८ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ ८ स्वर्ण, ५ रजत र ९ कास्य एवम् पुरूषतर्फ १३ स्वर्ण, ४ रजत र ९ कास्य पदक जित्न सफल भएका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा आइतबार देखि शुरू भएको भारोत्तोलनमा प्रतियोगितामा महिला ४५ केजी तौल समूहमा नेपाल पुलिस क्लबकी हिरामोती थारूले स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । साथै प्रतियोगिता अन्तर्गत नेपाल पुलिक क्लबका संगिता राई र मुई लामाले समेत स्वर्ण जितेका छन् भने दिलिप यादवले रजत जितेका छन् । प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ गरी १०-१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् ।
यसैगरी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा ब्याडमिन्टन कभर्डहलमा आइतबार भएको प्रतिस्पर्धामा पुरूषतर्फ नेपाल पुलिस क्लबले कास्य पदक प्राप्त गरेको छ । यस्तै पोखराको सभाहलमा आइतबार भएको शरीरिक सुगठन प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका डेभिड बलामीले स्वर्ण जितेका छन् । ६० केजी तौलतर्फको प्रतिस्पर्धामा उनले स्वर्ण जितेका हुन् ।
यसैगरी पोखराको फिसटेल एकेडेमीमा आइतबार भएको पौडी प्रतियोगिता अन्तर्गत पुरूषतर्फ ८०० मिटर फ्रिस्टायल रिलेमा युवान लाल श्रेष्ठ, सनिल कुमार थापा मगर, संकर्षण बहादुर रघुवंशी र सुविज्ञ मान तुलाधर सम्मिलित टिमले ८ मिनट २७:८९ सेकेन्ड समयका साथ स्वर्ण जितेका छन् । महिलाको ८०० मिटर फ्रिस्टायलतर्फ भएको प्रतिस्पर्धामा नेपला पुलिस क्लबकी आर्य महर्जनले रजत र समिरा शोभा थापा मगरले कास्य पदक जितेका छन् । सोही प्रतियोगिता अन्तर्गत ५० मिटर ब्रेष्टस्ट्रोकको पुरूषतर्फ नेपाल पुलिस क्लबका दिपंकर अवालले कास्य पदक प्राप्त गरेका छन् । महिलाको २०० मिटर फिस्टायलमा नेपाल पुलिस क्लबकी आर्य महर्जनाले रजत र समिरा शोभा थापाले कास्य जिते । साथै ४०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबकी अदिप्सा वैध, आर्य महर्जन, समिरा सोभा थापा मगर र मेगन गुरुङले कास्य पदक प्राप्त गरे ।
यसैगरी पोखराको प्रदर्शनी केन्द्रमा शनिबार सम्पन्न भएको फुलकन्ट्याक्ट कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत पुरूतर्फको ५५-६० केजी तौल समूहमा नेपाल पुलिस क्लबका सुशान लामिछानेले स्वर्ण जितेका थिए । प्रतियोगिता अन्तर्गत महिलातर्फको ४०-४५ केजी तौल समहूमा नेपाल पुलिस क्लबकी अञ्जना ढुंगेलले रजत तथा खुलातर्फ अमिर देउलाले कास्य पदक प्राप्त गरेका थिए ।
यसैगरी पोखरा रंगशालामा आइतबार भएको एथलेटिक्स प्रतियोगिता अन्तर्गत हाईजम्पमा नेपाल पुलिस क्लबका रेशन कुमार दनुवारले १.७५ मिटर उचाई नाघेर कास्य पदक जित्न सफल भए ।
यसैगरी पोखराको कोल्माबहकोट समाज हलमा आइतबार भएको टेबल टेनिस प्रतियोगिता अन्तर्गत मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । उक्त ईभेन्टमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ११-७, ५-११, ८-११,११-५, ९-११ को ३-२ ले पराजित गर्दै स्वर्ण जितेको हो । साथै वुमन्स डबलतर्फ नेपाल पुलिस क्लबले रजत र कास्य पदक प्राप्त गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३०मिटर)विधाको एकल पुरूषतर्फ नेपाल पुलिस क्लबका नगेन्द्र आचार्य फाइनल प्रवेश गरेका छन् । आइतबार भएको सेमिफाइनल खेलमा उनले गण्डकीका कृष्ण भण्डारीलाई ७-३ सेटले पराजित गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया