किसानका खसी बोका सहकारीले किन्न थाल्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दसैँमा मात्रै रु ७० लाख बराबरको खसीबोका बिक्री गरको छ । दसैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो ।

सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका बिक्री गरेको छ । किसानबाट खसीबोका सङ्कलन गरी सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमार्फत बिक्री गर्दै आएको छ । जिल्लाको पहाडी भेगका किसानले हुर्काएका खसीबोका सहकारीले सङ्कलन गरी बिक्री गरेको हो । जिउँदो तौल प्रणाली अनुसार सहकारीले यस वर्ष खसीबोका प्रतिकेजी रु पाँच सय ३० देखि रु पाँच सय ६० सम्ममा बिक्री गरेको उहाँले बताउनुभयो । सहकारीले किसानबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दा किसानले पनि उचित मूल्य पाउने र किसानलाई बजारीकरणको दुःखसमेत नहुने उहाँको भनाइ छ । “अरू खसीबोका किन्न गए मूल्यको ठेगान हुँदैन, हामीले तोकिएको मूल्य र सही तौल मापन गरी लिन्छाँै, किसानलाई उचित मूल्य दिन्छौँ”, व्यवस्थापक परियारले भन्नुभयो, “किसानलाई कहाँ बेच्न भन्ने चिन्तासमेत हुँदैन ।”

उहाँका अनुसार अघिल्ला वर्षभन्दा यस पटक खसीबोका निकै कम बिक्री भएको छ । गत वर्ष करिब एक हजार र त्यसअघिको दसैँमा एक हजार सात सय ५५ वटा खसीबोका बिक्री गरेकामा यस वर्ष निकै कम बिक्री भएको छ । अहिले बजारको मन्दी भएर हो वा के कारणले कम मात्रामा माग भएको यसै भन्न नसकिने व्यवस्थापक परियारले बताउनुभयो । कोभिडपछिका असरहरु बजारमा देखिएको हुनसक्ने उहाँको आङ्कलन रहेको छ ।

सहकारीले विगत ६ वर्षदेखि सामान्य मुनाफा राखी कृषकहरुबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१२, तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारी साथै मैनाघाटमा रहेको कृषि सहकारीले समेत खसीबोका सङ्कलन तथा बिक्री गरेको छ । जिल्लामा रहेका सहकारीले कृषकबाट खसीबाख्रा खरिद गरी बिक्री गर्दा बजारीकरणमा बाख्रापालक किसानलाई सहजता मिलेको छ । किसानलाई आफ्ना खसीबोका कहाँ लगेर बेच्न भन्ने चिन्ता हटेको छ ।

नवलपुरको पहाडी क्षेत्रमा प्रशस्त चरण क्षेत्र रहेकाले सो क्षेत्रका धेरै जसो किसानले बाख्रा पाल्ने गरेका छन् । सहकारीले सहजरूपमा बाख्रा खरिद गरिदिने र आम्दानीसमेत राम्रो लिन सकिने भएपछि पहाडी क्षेत्रका किसान बाख्रापालनतर्फ आकर्षित बनेका छन् ।