लगातारको वर्षाले जनजीवन कष्टकर, दसैँ मनाउन आएका गाउँमै
दसैँको दिन अपराह्नपछि मौसम परिवर्तन भई अविरल वर्षा सुरु भएको थियो । तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध छन् । जनजीवन कष्टकर भएको छ ।
डडेल्धुराको भित्रीमधेस क्षेत्र आलितालमा बाढी पहिराको त्रास छ भने पहाडी भेगमा पहिराको । गत वर्ष पनि असोज कात्तिकमा भएको झरीले ठूलो नोक्सान बेहोर्नु परेको डडेल्धुरावासी यसपटक पनि निरन्तर भइरहेको वर्षाले पिरोलोमा छन् ।
गत वर्षको बाढीपहिरोबाट पीडित परिवार अहिले पनि अर्काको घरमा साहारा लिइ बसेका छन् । पहिराका कारण घरखेत गुमाउनुपरेको अजयमेरु–१ मुद्राडका केशव पार्की अहिले पनि आफन्तको घरमा बस्दै आएका छन् । मुक्त हलिया भएका कारण सरकारद्वारा निर्माण गरिएको केशव पार्कीको घर गत वर्षको पहिरोले पूर्णक्षति पारेको थियो । उहाँ परिवारसहित आफन्तको जीर्ण घरमा बस्दै आएका छन्् ।
त्यसैगरी अमगढी–१ भेटाका पहिरोपीडित पनि पुरानै ठाउँमा बसिरहेका छन् । वर्षा एकनाश भइरहेको छ । जोेखिम उत्तिकै रहेकाले सतर्कताका साथ गाउँलेलाई सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष लोकबहादुर ऐरले बताउनुभयो । भेटामा मात्रै करिब तीन दर्जन परिवारले बसोबास स्थानान्तरणका लागि सरकारसँग माग गरी रहेका छन् ।
त्यसैगरी गन्यापधुरा–१ रुवाखोला क्षेत्रमा पनि गत वर्षको पानीले ठूलो धनजनको क्षति पु¥याएको थियो । अहिले पनि उनीहरु त्रसित छन् । सरकारले त्यस क्षेत्रलाई पहिरोपीडित क्षेत्रका रुपमासमेत घोषणा गरेको थियो ।
त्यसैगरी पर्शुराम नगरपालिका क्षेत्रमा पर्ने महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले बर्सेनि दर्जन गाउँ कटान गर्दै आएको छ । गएको साता परेको वर्षाले मात्रै रङ्गु नदीमा लगाएको तटबन्द भत्काएर बाढीले गाउँ र खेतमा क्षति पु¥याएको थियो । जसका कारण मानवीय क्षति नभए पनि पशुचौपाया र खेतपाती नष्ट भएकोे नगरप्रमुख भरत बढाऐर जोशीले बताउनुभयो ।
उहाँको सक्रियतामा फुटेको ठाउँमा पुनः तटबन्ध लगाएको तर अहिले पनि जोखिम त्यसै रहेको प्रमुखको भनाइ छ । निरन्तरको वर्षाले मानव जीवन दैनिक कष्टकर भइरहेको छ । डडेल्धुरा जिल्लाकै सबैभन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने पर्शुराम नगरपालिका क्षेत्रका एक दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीको जोखिममा छन् ।
पर्शुराम नगरपालिका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी, सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी रङ्गुन नदीमा आउने बाढीको जोखिममा छन् भने बलौचा, ओवा, खैरेनीलगायत गाउँ पहिरोको जोखिममा परेका छन् । बलौचा गाउँका ४० परिवार पहिरोको जोखिमलाई हेरी सुरक्षित स्थानमा अस्थायी बसोबास बनाइ सारिएका छन् ।
दसैँैमा आएका गाउँमै
बिहीबारदेखि लगातार परेको झरीले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ । जिल्लाका ग्रामीण सडक पहिराका कारण अवरुद्ध छन् । दसैँको टीका थाप्न र कूलदेवताको पूजा गर्न आएका मानिस गाउँमै रोकिएका छन् । केही दिनका लागि आफन्तका घरमा आएका पाहुना पनि फर्किन पाएका छैनन् ।
टीका थाप्न भागेश्वर गाउँपालिका–५ पुगेकी कलावती भट्ट पनि टीकाको भोलिपल्ट फर्किने गरी गाउँ पुग्नुभएको हो । उहाँको बसाई कञ्चनपुर हो । बाटो अवरुद्धका कारण अहिले पनि उहाँ गाउँमै छन् । कूलदेवताको पूजा र आफन्तको हातको टीका थाप्न गाउँ आएको थिए तर वर्षका कारण फर्किन नपाएको उहाँको भनाइ छ ।
दसैँका लागि नै भनेर गाउँ माइती घर आएकी बताउने शान्ति भण्डारी पनि अहिले माइतीमै छन् । वर्षाले बाटो अवरुद्ध पारेपछि केटाकेटीसहित कसरी फर्किने भन्ने पीर बढेको उहाँको भनाइ छ ।
अन्य जिल्लामा बस्दै आएका तर दसैँको पूजाआजाका लागि गाउँ फर्केका पनि गन्तव्यमा जान पाइरहेका छैनन् । पानी पर्न रोकिएसँगै गन्तव्यतिर लाग्ने उनीहरु बताउँछन् । वर्षाले गर्दा भिमदत्त राजमार्ग पनि एकतर्फीरुपमा मात्रै सञ्चालन रहेको यातायात व्यवसायीको भनाइ छ ।
लामो दूरीमा चल्ने सवारीसाधन चल्न नपाएको र पठाउन समस्या भएको उग्रतारा यातायातका बस व्यवसायी दीपकराज भट्टले बताउनुभयो । लामो दूरीकोे बस पठाउन समस्या छ । यात्रुलाई बाटोमा अलपत्र पार्नुभन्दा मौसममा फेरबदल भएपछि नियमित सञ्चालन गर्ने व्यवसायी बताउँछन् ।
दसैँको टीकाको दिनदेखि बदली भएको मौसमले अविरल झरीसहित भारी वर्षा हुन थालेपछि पाँच दिनसम्म मनाउने दसैँको टीकाका साथै खेतीपातीमा पनि असर परेको छ ।
धान काट्ने र चुट्ने बेलामा तीन दिनदेखि परिरहेको वर्षाले कृषकलाई चिन्तित बनाएको छ । भने गाईबस्तुको स्याहार र आम सर्वसाधारणलाई पनि आवतजावतमा समस्या भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया