सुदूरपश्चिम खेलकुद : पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा
चौतीस वर्षअघि कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले ओलम्पिकमा रचेको इतिहास अझै जीवित छ । सिओल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेर ‘एक वाउट’ जित्ने अहिलेसम्मकै एक्ला खेलाडी हुनुहुन्छ सिंह । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण विभागको उपनिर्देशक पदमा कार्यरत सिंह अब जागिरको उत्तराद्र्धमा हुनुहुन्छ ।
सिओल ओलम्पिकमा सुदूरपश्चिमबाटै डम्बरदत्त भट्टले पनि बक्सिङ खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पछिल्लो समय ब्याडमिन्टन खेलको जुनियरतर्फ विश्व वरियताको नम्बर एकमा रहनुभएका प्रिन्स दाहाल पनि सुदूरपश्चिमकै खेलाडी हुनुहुन्छ । दार्चुलामा बुवाको पछि लागेर बुवाकै साथ र सहयोगले ब्याडमिन्टनको विश्व वरियतासम्म पुग्नुभएका प्रतिभावान खेलाडी दाहाल जन्मिएको दार्चुलाको खेलको अवस्था भने अझै दयनीय छ ।
केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मच्चाउनुभएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेल जीवन सुरु गर्नुभएको हो । यसरी विसं २०४०/४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा छ ।
कैलाली र कञ्चनपुरमा केही खेल संरचना र पूर्वाधार सरकारले लगानी गरेर बेलाबखत बनाइरहेको भए पनि सात पहाडी जिल्लामा अझै त्यो सुविधाबाट खेलाडी बञ्चितजस्तै छन् । विगतदेखि नै भलिबलमा पहाडी जिल्लाबाट खेलाडी उत्पादन हुँदै आएका छन् । तर खेलाडीलाई नियमित प्रशिक्षण दिएर निखार ल्याउन यहाँ पर्याप्त प्रशिक्षकसमेत नभएको अवस्था छ ।
पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशी दुई दशकयता दार्चुलामा स्वयंसेवक प्रशिक्षक भएर भलिबल खेलाडी तयारीमा लाग्नुभएको छ । भोजराज त एक उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । उहाँजस्तै लामो समय खेलकुदमा खर्चिएका सिनियर खेलाडी यहाँ विभिन्न खेलमा बिना सुविधा स्वयंसेवक प्रशिक्षक छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट सकिएर प्रदेशस्तरीय छनोट सुरु भइरहँदा यहाँ कुनै खालको रौनकता भने देखिँदैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया