सेनाको हेलिकप्टरद्वारा गर्भवतीको उद्धार

दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । भैरवी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो ।

सुत्केरी हुने क्रममा अगाडि नै रक्तस्राव भएकाले गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको हो । अहिले सुनिताको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

दैलेखमा शल्यक्रियाको सुविधा नभएका कारण गर्भवतीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउनु परेको हो । हेल्थ असिस्टेन्ट वीरेन्द्रराज शाहीले भन्नुभयो, “जिल्ला अस्पताल दैलेखमा शल्यक्रिका लागि एनेस्थेसिया नहुँदा सुर्खेत पठाउनुपरेको हो ।”