निजामती सेवासम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’लाई दफाबार छलफलका लागि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ ।

प्रदेशसभाको आजको बैठकले भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीले दफाबार छलफलका लागि उक्त विधेयकलाई अर्थ, विकास तथा प्राकृति स्रोत समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकमा विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले समितिमा दफाबार छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । निजामती सेवाको गठनसम्बन्धी यो विधेयक विसं २०७८ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो ।

सभामुख अर्जुनबहादुर थापाले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकसँग प्रदेशको निजामती सेवासम्बन्धी विधेयक बाझिएको हकमा यो विधेयकलाई संशोधन गर्न सकिने हुँदा दर्ता भएको विधेयकको बाँकी प्रक्रिया अघि बढाइएको बताउनुभयो । “पछि विधेयक ल्याउनुभन्दा संशोधनमा जानु सजिलो देखिएकाले यो विधेयक अघि बढाइएको हो”, सभामुख थापाले भन्नुभयो, “सङ्घीय निजामती कानुनसँग बाझिएको हकमा प्रदेशको निजामती कानून पनि संशोधन गर्न सकिन्छ ।”