मृत्यु भएको मान्छेलाई जीवित बनाएको दावी गर्ने पास्टर पक्राउ

काठमाडौं ; मृत व्यक्तिलाई जिवित’ बनाएको भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवलको होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् ।
उनलाई प्रहरीले सोमबार दिउंसो बुटवलबाट पक्राउ गरेको हो ।

गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

विवेक सत्यालको नामबाट आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।