अर्थतन्त्रमा सुधारको संकेत

आयात नियन्त्रण र रेमिट्यान्स बढ्न थालेपछि ऋणात्मक अवस्थामा रहेका अर्थतन्त्रका सूचकमा सुधारका संकेत देखिन थालेका छन् । ०७८ असारको तुलनामा गत असारसम्म विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, भुक्तानी सन्तुलनलगायत सूचक ऋणात्मक अवस्थामै छन् । तर अघिल्ला महिना (वैशाख र जेठ) को तुलनामा असारमा उल्लिखित सबै सूचकहरूमा सुधारका संकेत देखिएको मंगलबार सार्वजनिक राष्ट्र बैंकको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले औंल्याएको छ ।

सरकारले केही विलासी वस्तुको आयात रोक्का गरेको, राष्ट्र बैंकले करिब १४ सय वस्तुको आयातका लागि खोलिने प्रतीतपत्र (एलसी) मा कडाइ गरेको, कर्जा विस्तारमा संकुचनकारी नीति लिएकोलगायत कारण अर्थतन्त्रका सूचकमा सुधारका संकेत देखिएको अर्थविद्हरूको भनाइ छ । ‘असारसम्मको तथ्यांक हेर्दा अर्थतन्त्रका सूचकमा सीमान्त सुधारको संकेत देखिएको छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले भने, ‘रेमिट्यान्स बढेको, आयात केही नियन्त्रणमा आएकोलगायत कारण सूचकमा झिनो सुधार देखिएको हो ।’ तर अर्थतन्त्रमा जोखिम अझै पनि बाँकी रहेको उनले बताए । ‘गत असारसम्म आयात भइसकेका वस्तु तथा सेवाको भुक्तानी बाँकी थियो, जुन साउनमा भुक्तानी भएको छ,’ उनले भने, ‘उक्त भुक्तानीको असर साउन महिनाको प्रतिवेदनमा देखिन सक्छ ।’

राष्ट्र बैंकका अनुसार गत असारसम्म आयात भइसकेका वस्तु तथा सेवाका लागि १ खर्ब १८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यो उधारोमा भएको आयात हो । उक्त रकम भुक्तानी भएपछि अरू कुनै स्रोतबाट विदेशी मुद्राको आप्रवाह नबढेको अवस्थामा अर्थतन्त्रका सूचक झन् ऋणात्मक हुन्छन् । राष्ट्र बैंकका अनुसार गत असारसम्म मुलुकमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाली रुपैयाँमा १३ प्रतिशत र अमेरिकी डलरमा १९ प्रतिशतले विदेशी मुद्रा सञ्चिति घटेको प्रतिवेदनले देखाएको छ । ०७८ असारमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । तर गत जेठको तुलनामा भने असारमा विदेशी मुद्रा सञ्चिति करिब ४० अर्बले बढेको छ । यसअनुसार गत जेठमा ११ खर्ब ७६ अर्ब रुपैयाँ रहेको कुल विदेशी मुद्रा सञ्चिति गत असारमा १२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्मको कुल विदेशी मुद्रा सञ्चितिले ७.८ महिनाका लागि वस्तु र ६.९ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकको दाबी छ । गत आर्थिक वर्षभर कम्तीमा ७ महिनालाई धान्ने आयात गर्न पुग्ने बराबर विदेशी मुद्रा सञ्चिति कायम राख्ने राष्ट्र बैंकको लक्ष्य थियो । तर उक्त आर्थिक वर्षका धेरैजसो महिनामा लक्ष्यभन्दा थोरै मात्र विदेशी मुद्रा सञ्चिति कायम थियो । आयात गर्ने क्षमताका आधारमा गत आर्थिक वर्षमा रहेको विदेशी मुद्रा सञ्चिति विगत ६ वर्षयताकै न्यून भएको राष्ट्र बैंकले जनाएको छ । पछिल्ला महिनामा अर्थतन्त्रका सूचकमा देखिएको परिवर्तनलाई सुधार नभनेर आर्थिक स्थायित्व नियन्त्रण उन्मुख रहेको रूपमा विश्लेषण गर्नुपर्ने अर्थविद् एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

(कान्तिपुरबाट)