फोहोरमाथि राजनीति !
काठमाडौं : सत्तारुढ दलहरुले नै बञ्चरेडाडाँमा फोहोर फाल्न नदिने निर्णय गरेपछि सोमबार सुरक्षा घेराभित्र फोहोर लैजाने व्यवस्था गरिएको थियो । राजधानी काठमाडौंबाट फोहोर बोकेका गाडी ल्याण्डफिल साइडमा लैजान नुवाकोट प्रहरी प्रशासनले अढाइ सय बढी सुरक्षाकर्मी परिचालन गरेको थियो ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको घोषित अवरोध तोड्दै फोहोर लैजान सुरक्षाकर्मी परिचालन गरिए पनि सफल हुन सकेन । सत्तारुढको अवरोधलाई प्रमुख विपक्षी दल नेकपा एमाले र राप्रपाले समेत साथ दिएको थियो ।
सबै दल फोहोर फाल्न नदिने पक्षमा उभिएपछि सुरक्षाकर्मी परिचालन भएपनि प्रशासन सफल हुन सकेन । दलहरुकै समर्थनमा स्थानीय गुलेली हानेर गाडी अगाडि बढ्न अवरोध गरे । स्थानीय अवरोधमा उत्रिएपछि सोमबार ५० गाडी फोहोर मात्रै बिर्सजन हुन सक्यो । अघिल्लो दिनको तुलनामा यो दोब्बर संख्या हो ।
तर अवरोधकै कारण अढाइ सय भन्दा धेरै गाडीले फोहोर फाल्न सकेन । दलहरुकै समर्थनमा स्थानीय फोहोर फाल्न अवरोध गरेपछि सोमबार साँझ काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले फोहोरमा राजनीति नगर्न आग्रह गरेका छन् । उनले सत्तारुढ दलकै अवरोध भएकोप्रति गुनासो समेत गरेका छन् ।
सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो’, बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । तर अहिले देखिएको समस्या सतही मात्रै भएको पनि उनले लेखेका छन् ।
केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् उनले लेखेका छन् । तर दलका शीर्ष नेताहरुले भने एकअर्कालाई आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमालेका सचिव योगेश भट्टराईले सरकारले फोहोर फाल्न नसक्ने आरोप लगाएका थिए । उनको भनाइ थियो– सरकारले फोहोर व्यवस्थापन गर्न सक्दैन, काठमाडौंमा मेयर बालेनले एमालेसँग सहकार्य गर्न तयार हुनुपर्छ ।
यसको जवाफमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमाथि राजनीति गर्न नहुने तर्क गरे । सबै मिलेर फोहोर व्यवस्थापनमा सहयोग गर्नुपर्ने थापाको सुझाव छ । यसको अर्थ लामो समयदेखि काठमाडौं महानगरको फोहोर नउठ्नुमा राजनीतिक रंग मिसिएको खुल्न थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया