नदी कटान रोक्न जैविक तटबन्ध
कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् ।
स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् । वनगाउँमा सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ । स्थानीयले बढी जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको बताएका छन् ।
स्थानीय बडघर रामप्रसाद चौधरी कर्णाली नदी फुटेमा वडा नं ८ पूरै डुबानमा पर्ने बताउनुहुन्छ । बडघर वनगाउँ, फाटा, अनुर्वा, बटनपुर, कमलगाउँ, कर्मीडाँडा, रामडाँडा, सत्तीपुल र वडा नं ९ को पायलगाउँसमेत सखाप हुने भएकाले स्थानीय श्रमदानमा खटेका जानकारी दिनुभयो । “गत वर्ष कात्तिकमा आएको बाढी यही ठाउँबाट बस्तीमा पसेको थियो, गत वर्ष वडा नं ८ पूरै डुबान भएको थियो । नदी फुटेको ठाउँ सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष पनि खतरा बढेको छ । त्यसैले हामीले सिँचाइ आयोजना र नगरपालिकाले बनाएको संरचना नबगोस् भनी तटबन्धमा जुटेका हौँ, नदीले कटान बढाउँदै लगेमा वडा पूरै सखाप हुनेछ ।”
तटबन्धका लागि वडा कार्यालयको पहलमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले आठ सय कट्टा र तारजाली उपलब्ध गराएको छ । तटबन्धमा ६५ प्रतिशत महिला र अन्य पुरुष सहभागी छन् । नदीमा तीन मिटर बढी पानी भए पनि स्थानीय विकल्प नै भएको भन्दै आफैँ नियन्त्रणको प्रयासमा जुटेका बडघर चौधरीको भनाइ छ । ‘‘तटबन्ध गरिरहेको ठाउँमा पानी चार मिटरसम्म छ तर तटबन्ध गर्नुपर्ने बाध्यता छ”, उहाँ भन्नुहुन्छ, “नदीमा पानीको वहाव बढे त रोक्न सक्ने अवस्था छैन । अहिले भइरहेको कटान रोक्न हामी सकेको गरिरहेका छौँ ।”
गत वर्ष कात्तिक २ गते आएको बेमौसमी वर्षापछि सोही ठाउँमा नदी फुट्दा वडा नं ८ पूरै डुबानमा परेको थियो । नदीको धार परिवर्तन भएर नदी बस्ती पस्दा बाढीपछि रानी–जमरा–कुलरिया सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरे पनि यस वर्ष पुनः भत्कँदै छ । यसलाई रोक्न स्थानीय श्रमदानमा जुटेका वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउनुहुन्छ । “म आफैँ पनि तटबन्ध कार्यमा खटिरहेको छु । लामो समयदेखि सिँचाइ आयोजना, प्रदेश र सङ्घीय सरकार गुहारिरहेका छौँ”, उहाँले भन्नुभयो, “सिँचाइ आयोजनाले विभिन्न ठाउँमा तटबन्धको कार्य गरिरहेको छ । तर नदीले विभिन्न ठाउँमा भत्काउँदै लगेको छ । नदी बृहत्रूपमा तटबन्ध गरेमात्रै बस्ती जोगाउन सकिन्छ ।”
वडाध्यक्ष ठकुल्ला यहाँका नागरिकलाई हरेक वर्ष वर्षात्मा बाढीको त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “नदी कटानले विभिन्न बस्ती र सत्ती पुल नै जोखिममा रहेको छ । नदी बस्तीमा पसेमा वडा नं ८ को अस्तित्व नै जोखिममा पर्छ”, वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “वनगाउँमा नदीले हरेक वर्ष कटान गर्दै आएको छ । नदीले करिब २५ बिघा सत्ती कर्णाली सामुदायिक वनसमेत कटान गरिसकेको छ ।”
टीकापुरको तल्लो तटीय क्षेत्रका नागरिकले हरेक वर्ष वर्षात्मा नदी कटान, डुबानको समस्या झेल्दै आएका छन् । नागरिकलाई नदीकै कारण तनाव झेल्नुपर्ने समस्याबाट राहत दिनेबारेमा सरकारले काम गर्नुपर्ने स्थानीय कुलबहादुर चौधरीको माग छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया