भूमिगत जल संरक्षण गर्न दुर्छिममा समुच्च खाडल निर्माण

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीय बासिन्दाले भूमिगत जल संरक्षण गर्न समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक सहयोग तथा हाम्रो साना किसान कृषि सहकारी संस्था दुर्छिमको संयोजनमा स्थानीय बासिन्दाले भूमिगत जल संरक्षण गर्ने उद्देश्यले वर्षात्को पानी जम्ने ट्रेञ्च निर्माण गरेका हुन् ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिमका स्थानीय बासिन्दाले ताराखसे सामुदायिक वन ब्लक एक, खिरिम्ते सामुदायिक वन, धारापानी निजी वन ब्लक दुई र सारुवा भुइचुङ निजी वनमा ‘बङ्कर’जस्तो देखिने लाम्चो आकारको खाल्डो निर्माण गरिएको छ । जनसङ्ख्या वृद्धि भएसँगै पानीको अभाव हुन थालेपछि पानीको स्रोत संरक्षण गर्दै पानीको मात्रा वृद्धिमा टेवा पु¥याउने लक्ष्यसाथ चार स्थानमा एक हजार आठ सय ५० घनमिटर ट्रेञ्च निर्माण गरिएको सहकारी संस्थाका अध्यक्ष मनकुमार राईले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाले सामुदायिक तथा निजी वनमा बारीको गह्राजस्तै लामो–लामो खाल्डो बनाएका छन् । वर्षात्को पानी खाल्डोमा जम्ने र जमिनमा सोसिएपछि तल्लो क्षेत्रका मुहान तथा खोलामा पानी बढ्ने अपेक्षा गरिएको छ ।

भूमिगत जल संरक्षणका लागि दुर्छिमकै धारापानी एक मुहान र धारापानी दुई मुहानसमेत संरक्षण गरिएको छ । सिमेन्टको कङ्क्रिट प्रयोग गरेर संरक्षण गरिएको मुहानबाट राँभू र कोटगैराका एक सय २४ घरधुरी उपभोक्तालाई खानेपानीको सुविधा मिलेको स्थानीय नैनसरी राईले बताउनुभयो ।

संरक्षण गरिएको पानीका मुहान खुला राखिएकाले वर्षात्को समयमा भलबाढी र अन्य फोहरले पानी दूषित हुने देखिएको छ । बाहिरी भागमा तारजाली प्रयोग गरेर गाईवस्तु प्रवेश गर्न नसक्ने बनाइए पनि खुला राखिएकाले दूषित हुने देखिएको हो ।

धारापानी तीन मुहानमा रिचार्ज पोखरी र राबुको वालिङ्खा घामपानीमा सिचाइँ पोखरीसमेत निर्माण गरिएको छ । मुहान संरक्षणअन्तर्गत खोल्सामा चारवटा ‘चेक ड्याम’ हालिएको सहकारी संस्थाका अध्यक्ष राईले बताउनुभयो । पानीको मुहान संरक्षण, समुच्च खाडल निर्माण र संरक्षण पोखरी निर्माणमा आयोजनाको रु १९ लाख तथा उपभोक्ताको २५ प्रतिशत श्रमदान लागेको छ । मुहान संरक्षण र पोखरी निर्माणले स्थानीयवासीलाई केही राहत मिलेको देखिएको छ ।

विसं २०६७ मा सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश वडामा खानेपानीको समस्या छ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारमा ट्याङ्करमा बोकेर ल्याएको पानी खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ ।

हलेसी क्षेत्रमा खानेपानी आपूर्ति गर्न सरकारले रु एक अर्बको आयोजना विस्तारको काम सुरु गरे पनि उक्त आयोजनाको काम अलपत्र बनेको छ । दूधकोसीको पानी पम्पिङ गरेर गाउँमा वितरण गर्ने आयोजना निर्माण व्यवसायी कम्पनीको लापरबाहीले अलपत्र बनेको हो ।

महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोसीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोसीकै पिप्लेबाट लिफ्टिङ गरेर वितरण गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । करिब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा दूधकोसीको पानी तानेर हरेक घरमा वितरण गर्ने गरी पम्पिङ प्रविधिको आयोजना सुरु गरिएको हो ।