साँच्चै देश विकास गर्ने भने यसो गरौं : पनेरु

प्रशासकको कुर्सीमा बस्न धेरैको सोख र रहर हुन्छ । छुट्टै सान हुन्छ बाहिर, भित्र र व्यस्त लेखिएकोे बोर्ड ढोकामा टाँगेपछि । जागिरेको अर्थ देश बनाउनु पनि हो । तर, धेरैले कुर्सी र नाम मात्र बेच्ने गरेका छन् भने प्रशासनिक क्षेत्रमा देशका लागि केही गरौँ भन्ने योगदान दिने कर्मचारी पनि छन् । तिनै कर्मचारी मध्येका एक हुन बौद्धिक व्यक्तित्व केदार पनेरु ।

केदार पनेरु, अर्थ मन्त्रालयमा २० वर्ष बसेर काम गर्दा हजारौं प्रतिवेदन बनाए । करको आधार र स्रोतहरूको पहिचान गरे । निर्वाचन आयोगमा रहँदा १८ घण्टासम्म काम गरेर आफ्नो जिम्मेवारी पूरा गरे । जागिरे जीवनमा उनी जहाँबसे त्यहाँ कार्ययोजना बनाएर काम गरे । फलतः आफ्नो मातहतका लागि के काम भयो भनेर कुनै दिन सोध्नु परेन । इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दा आफूभन्दा माथिकालाई जवाफ दिंदा टाउको झुकाएर बोल्नु पर्दैन केदार पनेरुको जागिरे मन्त्र यही हो ।

अति नै जटिल अवस्थामा रहेको र संघीय सरकारका लागि फलामको चिउरा सरह बनेको कर्मचारी समायोजनको जिम्मेवारी सम्पन्न गर्न काँध थापेका सहसचिव केदार पनेरुले आफूमाथि आउन सक्ने व्यवधानको आँकलन गरेर मन्त्री लालबाबु पण्डित र सचिव दिनेश कुमार थपलियालाई आफूले गरेको काममा हस्तक्षेप नगर्ने भएमात्र काम गर्ने सर्त राखे । कुन क्षेत्रमा कस्ताकस्ता कर्मचारी छन् भन्ने कुरा जान्नका लागि उनले सफ्टवेयरको निर्माण गराएर कर्मचारीको विवरण भर्ने व्यवस्था मिलाए ।

 

कर्मचारी समायोजनका लागि आवश्यक पर्ने कार्यविधि निर्माण गरे । कसैलाई अन्याय नहोस् भन्ने उनको ध्येय थियो । सफ्टवेयरको पासवर्ड उनले गोप्य राखे । मन्त्री र सचिवलाई पनि दवाव आउला भनेर उनले पासवर्ड गोप्य राखेर काम गरे ।

यही दूरदर्शिताका कारण रातदिन नभनी टिमले काम गर्दा कर्मचारी समायोजनको काम सहज रूपमा सम्पन्न भयो । आफूले चाहेको काम दृढताका साथ पूरा गर्ने उनको कामको धेरैले खुलेर प्रशंसा पनि गरे ।  पनेरुको कामको उच्च मूल्याङ्कन गर्दै सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिने कुरा चलेको थियो । पछि आफू विवादमा फस्ने भन्दै तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले त्यसलाई रोके ।

१६ वर्षे अल्लारे उमेरमा जागिरे जीवनमा प्रवेश गरेका पनेरुको भित्री इच्छा भने मार्सल आर्टमा थियो । तर, बुबाले परिवारमा कसैले नगरेको काम नगर भनेका कारण उनी निजामती सेवामा हानिए । पढाइमा अब्बल रहेका पनेरुले सेनाको सकेण्ड लप्टनमा पनि नाम निकाले ।  त्यहाँ रमाउन नसक्ने ठानेर निजामतीमा नै रहे । नेपाल सरकारको प्रथम श्रेणी सहसचिवसम्मको निजामती यात्रा पूरा गरेर उनले अवकास लिए । उनी जहाँ बसे त्यहाँ मनका साथ काम गरे । उनको मान्यता थियो जनताको काम सहज हुनुपर्छ । त्यही भएर उनले जनताको अधिकार सुनिश्चि गर्ने केही आधार बनाए ।

नेतृत्वले ७ वटा काम ग¥यो भने त्यही आवश्यकतामा उसले आफ्नो नीति तथा कार्यक्रम बनाउन सक्ने उनको बुझाइ छ । पहिलो भनेको मानिसले सुरक्षित, स्वस्थ, स्वच्छ वातावरणमा जन्मिन पाउनु पर्छ । त्यसका लागि अस्पतालको राम्रो व्यवस्था हुनुपर्छ । त्यो बच्चाले स्वस्थ, सुरक्षित रुपमा हुर्किने वातावरण पाउनुपर्छ । यसको अर्थ आमा र बच्चाले पोषणयुक्त खाना पाउनु पर्छ । यो हरेक समुदाय र वर्गले पाउनु पर्छ भन्ने उनको मान्यता रहेको छ ।

बच्चा हुर्किएपछि उसलाई आवश्यक पर्ने शिक्षा र स्वास्थ्यको व्यवस्था हुनुपर्छ । गुणस्तरीय शिक्षा र योग्यता अनुसारको रोजगारी पाउनु उसको मौलिक अधिकार पनि हो । यो राज्य संचालनका लागि बनेका सबै संयन्त्रले गर्नुपर्छ । निर्वाध रूपमा  वडादेखि पालिका, प्रदेश र संघसम्म यातायातको सहजता हुनुपर्छ । खानेपानी जीव र जीवनका लागि अति आवश्यक भएको हुनाले यसको व्यवस्थापन राज्यबाट सहज सरल हुनुपर्छ । अनि हरेक दृष्टिबाट नागरिकको सुरक्षा भयो भने मात्र हामीले चाहेको विकासको अवधारण अघि बढ्छ भन्ने पनेरुको बुझाई रहेको छ । यी कुराहरू राजनीतिक दलको घोषणा पत्रमा उल्लेख गरेर त्यसलाई व्यवहारमा ल्याउनु पर्नेमा उनको जोड छ । यति काम ग¥यो भने ओलान्चुङ्गोलादेखि दार्चुलाका कुना कन्दरासम्म हाम्रो संघीयता पुग्छ ।

रोजगारीको ग्यारेन्टी नभएको हुनाले तहगत शिक्षा हासिल गरेका र नगरेका सबै जनशक्ति पारिवारिक उत्तरदायित्वका कारण बाहिर जानुपरेको छ । राज्यले उनीहरुको न्युनतम् आवश्यकता पनि परिपूर्ति गर्न नसकेका कारण रोजगारीको खोजीमा विदेश जान बाध्य भएका हुन् । त्यसको व्यवस्थापनमा राज्यले ध्यान दिनु जरुरी छ । दलले घोषणापत्र तयार गर्दा अर्को दललाई लान्छना लगाउने गरी मात्र आएको छ । जनताको न्यनतम् आवश्यकता परिपूर्तिको आधारमा आएकै छैन । अरुलाई गाली गरेर आफ्नो उचाई बढाउन खोजिएको छ । सन् २०२८ सम्ममा परिपक्वता हासिल गर्ने देशको लक्ष्यलाई यी कुराले सघाउपुग्ने पनेरु बताउँछन् ।

अर्थ मन्त्रालयले बनाउने बजेटमा यी विषयहरू नजिकबाट हेर्न नसक्नुको कारण के होला भन्ने जिज्ञासामा मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा प्रष्ट पार्न सक्दैनन् । कृषिमा आत्म निर्भर हुने भनेको छ । मलमा मात्र अनुदान बढाएर केही हुँदैन । गुणस्तरीय वीउ सिंचाई, सर्वसुलभ रुपमा मल र त्यसको वितरण प्रमुख कुरा हो । कुनै पनि मन्त्रालयको काम वितरणमुखी हुनु हुँदैन । मागको आधार कति हो र त्यस बराबरको उत्पादन बढाउन के गर्नुपर्छ त्यस बारेमा बहस हुन जरुरी छ । ‘म त्यो बहसमा सहभागी भएर मेरा योजनाहरू राज्य समक्ष प्रस्तुत गर्न चाहन्छु । यसरी सबै पक्षले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरौँ ।’

बजेट बनाउने काम अर्थ मन्त्रालयको हो भन्ने बुझाई अझै पनि सचिव र मन्त्रीमा छ । अनि काम भएन भनेर हामी आलोचना गर्छौं । समस्याको जडको खोजी गर्दैनौँ । अर्थले दिएको पैसा खर्च मात्रै गर्ने भन्ने बुझाई गतल छ । यसलाई सुधार गर्नुपर्छ ।

यसको सुधारका लागि पहिला कर्मचारी कटौतीको कुरा गर्नुपर्छ भन्यो भने समस्या आउँछ भन्ने कुरा आउँछ । अनि के के समस्या आउँछ त ? कसले कसरी काम गरिरहेको छ भनेर सोध्ने हो भने त्यहाँ कार्य योजना बन्छ । कार्य योजना बन्यो भने प्रत्येक महिना त्यो कार्यान्वयन भयो भएन भनेर हेरिन्छ । यो आफैँ सिस्टममा साइकलको चेन जस्तै काम गर्छ । कसले काम गरेन उसको क्षमताका आधारमा उसलाई हटाउने भन्यो भने कामको रफ्तार बढ्छ । अनि काम पनि समयमा पूरा हुन्छ अहिले यो हुन सकेको छैन । दूरदर्शी नेतृत्व नभएसम्म यो काम हुन सक्दैन ।

व्यक्तिवादी चरित्र र सोचबाट बाहिर आएर मात्र देश बनाउन सकिन्छ । त्यसका लागि नेता, सेना प्रहरी सबै मिलेर हाम्रो बाँझो जमिनको उपयोग गरेर उत्पादन बढाउनु पर्छ । त्यसका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताको परिपूर्ति राज्यले गर्नुपर्छ । यति गर्न सके आयातलाई कम गर्न सकिन्छ । आयात कम हुनु भनेको डलरको संचिति बढ्नु हो । अहिले हाम्रो अर्थतन्त्र सवल छ । यही बेलामा हामीले योजना बनाएर यी काम गर्नुपर्र्छ । विद्युत किन्न भारतले आनाकानी गरिरहेको छ । यस्तो वेलामा विद्युतको महसुल दर घटाएर विद्युतीय उपकरणको उपयोगमा जोड दिनुपर्छ । त्यसका लागि नयाँ प्रविधिको खोजी र विकास गर्नुपर्छ । ट्राफिकले चिटमात्र काटिरहेको छ, सवारीको अवस्थाबारे प्रदूषण जाँच छैन ।

प्रशासकको अलवा पनेरुको अर्को ओजिलो पाटो भनेको साहित्य लेखन पनि हो । जसले समाज बुझ्छ, उसले समाजका लागि योगदान गर्छ, भन्ने मान्यतालाई शब्दमा व्यक्त गर्छन् पनेरु । त्यही भएर होला जागिर छोडेपनि सामाजिक कामले उनलाई पछ्याइरहेको छ । कविता, गीत लेखनमा सक्रिय रहेका पनेरुको आधा दर्जन गीत सार्वजनिक भएका छन् भने किताबको आकारमा ‘सेतो याक’ उपन्यास प्रकाशित छ । उनको लेखनमा समाजको चिन्तन र देशप्रेमको भाव जागृत भएको पाइन्छ । उनका गीतमा सबैभन्दा धेरै रुचाइएको गीत ‘सुखी हुनु छैन मलाई अरूलाई रुवाएर’ हो । पनेरुका गीतमा आत्म समीक्षा र सामाजिक दर्शन अटाएका कारण उनका गीत ओजपूर्ण मानिन्छन् ।

(साँधु न्यूजबाट साभार)